भैरहवा, पुस २४ गते । भगवान् गौतम बुद्धले २९ वर्षको उमेरमा कसरी गृहत्याग गरे ? उनले गृहत्याग गर्नुको कारण के थियो ? बुद्धले गृहत्याग गर्दाको मौसम कस्तो थियो ? लुम्बिनी विकास कोषले यी सबै कुराको अनुभूति र जानकारी हुने व्यवस्था मिलाउने भएको छ ।
लुम्बिनी भ्रमण वर्ष-२०१२ को अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममध्ये कोषले ज्ञान प्राप्तिका लागि गृहत्याग गर्ने भगवान् गौतम बुद्धको तत्कालीन झलकको अनुभूति हुनेगरी शुल्कसहित कपिलवस्तुदेखि लुम्बिनीसम्मको घोडचडी यात्रा तय गरेको हो ।
कपिलवस्तुको तिलौराकोटस्थित दरबारमा राजसी सुखमा २९ वर्ष बिताएका -सिद्धार्थ गौतम) बुद्धले संसारमा व्याप्त दुःख र अशान्तिको कारण तथा त्यसको निवारण खोज्न मध्यरातमा गृहत्याग गरेका थिए ।
वैशाख शुक्ल पूणिर्माको मध्यरातमा बुद्धले गृहत्याग गर्दाको झल्को अनुभूति गर्न चाहनेले लुम्बिनी विकास कोषलाई कम्तीमा १० हजार शुल्क तिर्नुपर्ने छ ।
तिलौराकोट दरबारबाट सुनसान रातमा घोडा चढेर लुम्बिनी आउन चाहनेको सङ्ख्या हेरेर घोडाको व्यवस्था गरिने विकास कोषका सदस्यसचिव राजेन्द्र थापामगरले बताउनुभयो । घोडाको व्यवस्था गर्न नेपाली सेना र नेपाल प्रहरीसंँग छलफल भइरहेको उहाँले बताउनुभयो ।
लुम्बिनी भ्रमण वर्ष सुरु हुने दिन जनवरी १४ अर्थात् यही पुस ३० गतेदेखि नै त्यस्तो यात्रा गर्न चाहनेले आˆनो नाम र घोडा बुक गराउन सक्ने व्यवस्था विकास कोषले गर्नेछ । घोडचढीको कार्यक्रम भने वैशाख शुक्ल पूणिर्माकै दिन नभए पनि पूर्णचन्द्र अथवा ‘फुल मुन’को रातमा आयोजना हुनेछ । त्यस्तो कार्यक्रम बुकिङअनुसार वर्षभरि नै चलाउने कोषको योजना छ । बुद्ध धर्म र दर्शनप्रति श्रद्धा राख्ने नेपाली तथा विदेशी पर्यटकले यसमा सहभागिता जनाउने विश्वास कोषले गरेको छ । विकास कोषले तयार गरेको यो कार्यक्रम संसारभरका बौद्धमार्गीका लागि नौलो र रोमाञ्चक हुने विश्वास संस्कृतिविद् डा. गितु गिरीको छ ।
भगवान् बुद्धले २९ वर्षको उमेरमा राजसी सुखसयलसहित गृहत्याग गर्दा ‘कन्थक’ नामक घोडा र ‘छन्ना’ नामक सारथीलाई संँगै लिएर निस्किएको इतिहास छ । घरबाट निस्किएका सिद्धार्थ गौतम तत्कालीन अनोमा नदी -हालको नारायणी नदी) किनारमा बसेर आˆना सबै राजकीय गहना तथा पोसाक खोलेर मुण्डन गरी घोडा र सारथिलाई फर्काएर आफू ज्ञान प्राप्तिका लागि कुशीनगरतर्फ लागेको सम्बद्ध ऐतिहासिक कृतिमा उल्लेख छ ।